पर्वतारोहणबाट सरकारलाई ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व
मंसिर ८ — नेपालको हिमाली पर्यटनले सरकारी राजस्वमा उल्लेखनीय योगदान पुर्याएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति जारी गर्दा सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। पर्यटन विभागका तथ्यांकअनुसार नोभेम्बर २० सम्ममा नेपालका ४८ वटा हिमाल आरोहणका लागि १८८ वटा आरोहण टोलीलाई अनुमति दिइएको थियो। ती टोलीमा आबद्ध १ हजार ६ सयभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्। यस अवधिमा सरकारले कुल ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ पर्वतारोहण रोयल्टी संकलन गरेको विवरण सार्वजनिक भएको छ। नेपालको आठौँ अग्लो हिमाल मनास्लु यस सिजनमा आरोहीहरूको प्रमुख आकर्षण बनेको छ। मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिँदा सरकारले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ राजस्व प्राप्त गरेको छ। त्यस्तै, सगरमाथा क्षेत्रको प्रसिद्ध आमादब्लम हिमाल आरोहणका लागि ४० टोलीका ४७६ जनाले अनुमति लिएका छन्, जसबाट ७ करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व संकलन भएको छ। धौलागिरि प्रथम, हिमलुङ, मकालुलगायत अन्य हिमालबाट पनि उल्लेख्य रोयल्टी प्राप्त भएको छ। नेपालको हिमाली सौन्दर्य, प्राकृतिक विविधता र साहसिक पर्यटनप्रतिको अन्तर्राष्ट्रिय आकर्षणका कारण प्रत्येक वर्ष विभिन्न देशका पर्वतारोही नेपाल आउने गरेका छन्। पर्वतारोहणबाट प्राप्त हुने रोयल्टीले सरकारी आम्दानी बढाउनुका साथै होटल, यातायात, पदयात्रा व्यवसाय, भरिया तथा स्थानीय पर्यटन व्यवसायीको रोजगारी र आयआर्जनमा समेत योगदान पुर्याउँदै आएको छ। हिमाली पर्यटनलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन सके नेपालले आगामी दिनमा अझ बढी विदेशी पर्यटक आकर्षित गरी पर्यटन क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।









