काठमाडौँमा जलवायु कार्य सप्ताह सुरु, १० बालबालिका सद्भावना दूत नियुक्त
मङ्सिर ७। कार्यक्रममा भूमिगत पानीको स्रोत संरक्षण, फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा र हरित पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइनेछ। सप्ताहको पहिलो दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिबीच जलवायु परिवर्तनका असर र समाधानका उपायबारे अनुभव आदानप्रदान हुनेछ। साथै, राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ सुरु गरिने कार्यक्रम छ। दोस्रो दिन जलवायु वित्त, तेस्रो दिन परम्परागत हिटी तथा सम्पदा संरक्षण, चौथो दिन स्वच्छ ऊर्जा र विद्युतीय सवारीसाधन तथा पाँचौँ दिन बालबालिका र युवाको जलवायु अभियानमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछन्। महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटको भिडियो प्रतियोगितासमेत आयोजना गरेको छ। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट १० विद्यार्थीलाई जलवायु परिवर्तन सद्भावना दूतका रूपमा वर्षभरि संरक्षणसम्बन्धी गतिविधिमा सहभागी गराउने महानगरको योजना छ।









