यस वर्ष हिमाली क्षेत्रमा हिमपात र वर्षा बढ्न सक्ने चेतावनी
मङ्सिर ७। यस वर्षको हिउँदमा नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रमा औसतभन्दा बढी वर्षा र हिमपात हुन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र चीनका अनुसन्धान संस्थाहरूले संयुक्त रूपमा तयार पारेको ‘एचकेएच विन्टर आउटलुक २०२६’ प्रतिवेदनले नेपाल, अफगानिस्तान र बङ्गलादेशलगायत क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुन सक्ने औँल्याएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको शक्तिशाली एल निनोको प्रभावले हिमाली फेदीमा बढी वर्षा र उच्च हिमाली क्षेत्रमा बढी हिमपात हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ। अत्यधिक वर्षा र हिमपातका कारण पश्चिमी हिमालय क्षेत्रमा बाढी, पहिरो तथा हिमपहिरोको जोखिम बढ्न सक्ने बताइएको छ। यद्यपि हिन्दुकुश हिमालयका केही क्षेत्रमा लामो समयसम्म सुक्खा अवस्था र डढेलोको जोखिमसमेत रहन सक्ने प्रतिवेदनमा उल्लेख छ। हिमपातले आगामी वर्षको नदी प्रवाह, सिँचाइ तथा जलविद्युत् उत्पादनमा समेत प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित निकायलाई पूर्वतयारी गर्न सुझाव दिइएको छ।









