दार्चुला–भारत जोड्ने मोटरेबल पुल आज उद्घाटन हुँदै
मङ्सिर ७। दार्चुलाको महाकाली नगरपालिका–८ स्थित असीगडा र भारतको उत्तराखण्डस्थित धारचुलाको छारछुम जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुल आज सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी गरिएको छ। भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण भएको ११० मिटर लामो दुई लेनको उक्त पुल निर्माणमा ३२ करोड ९८ लाख भारतीय रुपैयाँ खर्च भएको छ। पुलको शिलान्यास तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले गरेका थिए। पुल सञ्चालनमा आएपछि दार्चुला, बैतडी र बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले तुइन तथा झोलुङ्गे पुलबाट जोखिमपूर्ण रूपमा सीमा पार गर्नुपर्ने बाध्यता हटाउनुका साथै व्यापार, कृषि उपज तथा जडीबुटीको निर्यात र पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।









