कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा सुरु, ११ टोलीका खेलाडी उपाधि जित्ने दौडमा
मंसिर ८ — लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा मंगलबारदेखि सुरु भएका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि खेलाडीको आवास, व्यवस्थापन तथा प्रतियोगिताको समयतालिकालाई सहज बनाउन केही खेलका प्रतिस्पर्धा उद्घाटनअघि नै सञ्चालन गर्न थालिएको हो। मंगलबारदेखि पुरुष फुटबल, महिला बास्केटबल, टेनिस तथा पौडीसहित विभिन्न खेलका प्रतिस्पर्धा सुरु भएका छन्। पुरुष फुटबलको उद्घाटन खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुँदैछन्। कुल ३२ खेल विधाका ३८४ इभेन्ट्समा खेलाडीहरूले १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा आयोजना हुनेछन् भने बाँकी खेल कर्णाली प्रदेशका दैलेख, सल्यान, कालिकोट, जुम्ला तथा पश्चिम रुकुमसँगै लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन गरिनेछ। यस प्रतियोगिताको मुख्य आयोजनास्थल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला रहेको छ, जहाँ करिब १० हजार दर्शक अट्ने क्षमता छ। प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना हुन लागेकाले यसलाई प्रदेशको खेलकुद इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै कर्णालीको पर्यटन, होटल व्यवसाय, यातायात र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।









