नेपाल–भारतबीच महाकाली नदीमा ११० मिटर लामो मोटरेबल पुल उद्घाटन
मंसिर ८ — नेपाल र भारतबीच सीमा जोड्ने महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो मोटरेबल पुलको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भर्चुअल माध्यममार्फत पुलको उद्घाटन गरेका हुन्। उक्त पुलले नेपालको दार्चुला जिल्लास्थित महाकाली नगरपालिका–८ को असिगडा क्षेत्रलाई भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला तहसिलस्थित छारछुमसँग जोडेको छ। भारतीय सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण भएको यस पुलमा ३२ करोड ९८ लाख भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ। पुल निर्माणको काम करिब दुई वर्षअघि सम्पन्न भए पनि औपचारिक उद्घाटन हुन सकेको थिएन। नयाँ पुल सञ्चालनमा आएसँगै दार्चुला तथा आसपासका बासिन्दालाई भारत आवतजावत गर्न, स्थानीय व्यापार विस्तार गर्न र दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न सहज हुने अपेक्षा गरिएको छ। यसबाट बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई समेत लाभ पुग्ने विश्वास गरिएको छ। यसअघि महाकाली नदी पार गर्न स्थानीयले विभिन्न जोखिमपूर्ण तथा सीमित आवागमनका विकल्प प्रयोग गर्नुपर्ने अवस्था थियो। पुलसँगै सीमा व्यवस्थापनलाई व्यवस्थित बनाउन नेपालीतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार कार्यालयका अस्थायी संरचना स्थापना गर्ने तयारीसमेत भइरहेको छ। नेपाल र भारतबीचको सीमापार सम्पर्क, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले निर्माण गरिएको यस पूर्वाधारलाई सुदूरपश्चिम क्षेत्रको विकासका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।









