देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्दै श्रम संस्कृति पार्टी
काठमाडौं । श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने भएको छ।सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन्।
‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ,’ साम्पाङले भनेका छन्। सरकारले सुकुम्बासी बस्ती हटाउने तयारी गरेदेखि नै साम्पाङले भने यसको विरोध गर्दै आएका छन्।
बस्ती खाली गरेपछि उनले लगातार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुकुम्बासीहरूलाई संगठित हुन आह्वान गर्दै त्यसको नेतृत्व श्रम संस्कृतिले लिने बताएका हुन्।बस्ती भत्काउनुअघि विपक्षी अन्य दलहरूले त्यसको विरोध गरे पनि भत्काइसकेपछि भने उनीहरुको धारणा आएको छैन।
सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सार्वजनिक, नदीउकास जग्गामा घर, टहरालगायत संरचना बनाएर बसोबास गरिरहेकाहरूलाई हटाइरहेको छ।काठमाडौंको थापाथली र सिनामंगलका बागमती नदी किनार तथा मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएको छ।
त्यहाँका सुकुम्बासीहरूलाई अहिले कीर्तिपुरको सत्सङ भवन र केहीलाई होटलहरूमा राखिएको छ। सुकुम्बासीहरूको विवरण संकलन भइरहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारसम्म सयौं परिवार विवरण दर्ताका लागि गएका छन्। सरकारले सुकुम्बासीलाई नागार्जुनको इचंगुस्थित अपार्टमेन्टमा राख्ने भनेको छ। तर बस्ती भत्काइसकेपछि मात्रै त्यहाँ मर्मत भइरहेको छ।









