दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबल खेलतालिका सार्वजनिक, मङ्सिर ८ देखि प्रतिस्पर्धा सुरु
मङ्सिर ७। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाअनुसार पुरुष फुटबलका खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन्। प्रतियोगिताको पहिलो खेलमा आयोजक कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुरुष फुटबलमा सात प्रदेशका टोली तथा तीन विभागीय टोली गरी १० टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल पुलिस क्लब, गण्डकी र कर्णाली, समूह ‘बी’ मा सशस्त्र प्रहरी बल (एपीएफ), मधेश र सुदूरपश्चिम तथा समूह ‘सी’ मा त्रिभुवन आर्मी, कोशी, बागमती र लुम्बिनी रहेका छन्। समूह चरणका खेलहरू मङ्सिर १३ गतेसम्म सञ्चालन हुनेछन् भने सेमिफाइनलका खेल मङ्सिर १५ गते र तेस्रो स्थान तथा फाइनलका खेल मङ्सिर १७ गते जुम्लामा आयोजना गर्ने तयारी गरिएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ।









