गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै
मंसिर७। रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड पछिल्लो समय बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाइमा रहेको यस कुण्डमा पहिले जनैपूर्णिमा तथा विशेष धार्मिक पर्वका बेला मात्रै भक्तजन र पर्यटकको चहलपहल हुने गरे पनि अहिले वर्षभरि आन्तरिक तथा विदेशी पर्यटक पुग्न थालेका छन्। सडक सञ्जालको विस्तार र पदमार्गमा होटल तथा लजको सुविधा थपिँदै गएपछि यात्रा सहज बनेको स्थानीय व्यवसायीको भनाइ छ। काठमाडौँबाट धुन्चेसम्म सवारीसाधनमा पुगेर त्यहाँबाट करिब दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ। स्थानीय व्यवसायीका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्। धार्मिक आस्था, भगवान् शिवसँग जोडिएको पौराणिक महत्व, हिमाली प्राकृतिक सौन्दर्य र ऐतिहासिक विरासतले गोसाइँकुण्डको आकर्षण बढाएको छ। यद्यपि, उच्च उचाइका कारण लेक लाग्ने जोखिम रहेकाले मौसम, स्वास्थ्य अवस्था र पदमार्गको सुरक्षाबारे जानकारी लिएर मात्र यात्रा गर्न स्थानीयवासीले सुझाव दिएका छन्।









