image
image

अतिक्रमणमा रक्सौलस्थित नेपाल रेल्वेको जग्गा

काठमाडौँ - वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलमा ९४ वर्षअघि नेपालले तत्कालीन ब्रिटिस–इन्डिया सरकारसँग खरिद गरेको जग्गा बेवारिसे बनेको छ। नेपाल सरकारले संरक्षण र उपयोगमा चासो नदिँदा स्थानीयले जग्गा अतिक्रमण गरी बस्ती बसालेका छन्। बस्तीको नाम ‘नेपाली स्टेसन’ राखिएको छ।  

नेपाल रेल्वेको उक्त जग्गा चार दशकदेखि बेवारिसे छ। यसैकारण सो जग्गा अतिक्रमण गरी बस्ती बसालिएको हो। जग्गाको करिब मध्य भागमा रहेको रेल्वेको भवन जीर्ण भएर भग्नावशेषमा रूपान्तरित हुन थालेको छ। ‘यो भवनमा टिकट काउन्टर र नेपाल रेल्वेको प्रशासनिक कार्यालय थियो,’ बस्तीको बीच भएर गएको मुख्य सडक देखाउँदै रक्सौलका नागरिक अगुवा महेशकुमार अग्रवालले भने, ‘यो नेपालतिर जाने रेल हिँड्ने लिक हो।’ तत्कालीन नेपाल रेल्वेको अभिलेखअनुसार १६ बिघा १ कट्ठा ४ धुर क्षेत्रफल रहेको उक्त जग्गामा पुग्न नेपालले खरिद गरेको आफ्नै बाटो छ। सोही बाटो भएर उक्त जग्गामा पुग्न सकिन्छ।

सरोकारवालाका अनुसार व्यापारिक उपयोगिताको दृष्टिकोणले उक्त जग्गा निकै महत्वपूर्ण ठाउँ (प्राइम लोकेसन) मा छ। ‘दुर्भाग्य छ, यति महत्वपूर्ण जग्गाको कुनै उपयोग हुन पाएको छैन’, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल भन्छन्, ‘यसको सदुपयोग गरेर नेपालले लाभ लिन सक्छ। तर त्यसभन्दा पहिले आवश्यक छ जग्गा संरक्षण।’ राजपालका अनुसार नेपाल रेल्वेको जग्गा प्रयोग गर्ने अवस्थामा नरहेकाले रक्सौल स्टेसन भएर आयात हुने ‘बल्क कार्गो’ का मालवस्तु राख्न भारतीय रेल्वेको जग्गा प्रयोग हुन्छ, त्यसबापत मासिक करोडौं रूपैयाँ भाडा र विलम्ब शुल्क नेपाली आयातकर्ताले तिर्नुपरिरहेको छ।

रक्सौल रेल्वेको कार्गो यार्डमा नेपालका लागि आयात हुने पत्थर कोइला, सिमेन्ट बनाउन प्रयोग हुने फ्लाइ एस, जिप्सम तथा स्लेग, औद्योगिक कच्चा पदार्थका रूपमा विभिन्न प्रकारका फलामलगायत वस्तु राखिन्छ। रक्सौलस्थित भारतीय रेल्वे स्टेसनसँगै टाँसिएर रहेको नेपाल रेल्वेको जग्गालाई अतिक्रमणमुक्त गरेर नेपालको व्यापार सहजीकरणमा प्रयोग गर्न सके मासिक करोडौं रूपैयाँ शुल्क, विलम्ब शुल्क र जरिवाना जोगिने उनको भनाइ छ।  
-नागरिक दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।