स्पेनको इबिजा टापुनजिक डिजेल बोकेको ट्याङ्कर दुर्घटना, एक जनाको मृत्यु
मंसिर १२। स्पेनको भूमध्यसागरीय क्षेत्रमा पर्ने प्रसिद्ध पर्यटकीय टापु इबिजानजिक करिब ७ हजार मेट्रिक टन डिजेल बोकेको मालवाहक ट्याङ्कर दुर्घटनामा परेको छ। दुर्घटनामा जहाजमा सवार एक जना चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। समुद्रमा इन्धन चुहावट हुन सक्ने जोखिम बढेपछि स्पेनी अधिकारीहरूले आपत्कालीन वातावरणीय सुरक्षा योजना सक्रिय गरेका छन्।
माल्टा को झण्डा बोकेको 'मेड एम्रे' नामक रासायनिक तथा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर स्पेनको अल्जेसिरास बन्दरगाहबाट बार्सिलोना जाँदै गर्दा नोभेम्बर २६ को बिहान दुर्घटनामा परेको हो। इबिजाको उत्तरपश्चिमी तटबाट करिब ३० समुद्री माइल अर्थात् ५६ किलोमिटर टाढा जहाज एक्कासि असन्तुलित भएर समुद्रमा पल्टिएको थियो।
जहाजमा १७ जना चालक दलका सदस्य सवार थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ स्पेनको समुद्री उद्धार सेवा, हेलिकोप्टर तथा आसपासका जहाज परिचालन गरी उद्धार अभियान सञ्चालन गरिएको थियो। सबै १७ जनालाई समुद्रबाट उद्धार गर्न सफल भए पनि एक जनाको अस्पताल पुर्याएपछि मृत्यु भएको हो। अन्य छ जनालाई हाइपोथर्मिया अर्थात् अत्यधिक चिसोका कारण शरीरको तापक्रम घट्ने समस्या देखिएको थियो। उनीहरूको उपचार गरिएको छ।
दुर्घटनापछि जहाज पूर्ण रूपमा समुद्रको सतहमा डुबेको प्रारम्भिक विवरण आए पनि पछिल्लो जानकारीअनुसार ट्याङ्कर आंशिक रूपमा डुबेको अवस्थामा रहेको छ। जहाजको तल्लो भाग समुद्रको सतहभन्दा माथि देखिएको र प्राविधिक टोलीले यसको स्थिरता परीक्षण गरिरहेको अधिकारीहरूले बताएका छन्।
यस दुर्घटनापछि स्पेनका लागि सबैभन्दा ठूलो चिन्ता समुद्री वातावरणमा हुन सक्ने इन्धन प्रदूषण बनेको छ। ट्याङ्करमा रहेको करिब ७ हजार टन डिजेल समुद्रमा चुहिएमा इबिजा आसपासको समुद्री जैविक विविधता, माछा तथा अन्य जलचर प्राणीमा गम्भीर असर पर्न सक्ने वातावरणविद्हरूले चेतावनी दिएका छन्।
स्पेनले सम्भावित प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय समुद्री प्रदूषण आकस्मिक योजना दोस्रो तहमा सक्रिय गरेको छ। तेल चुहावट नियन्त्रण गर्न विशेष जहाज 'क्लारा क्याम्पोआमोर' सहित उद्धार जहाज र हवाई निगरानी टोली परिचालन गरिएको छ। समुद्रमा इन्धनको फैलावट भए नभएको पत्ता लगाउन निरन्तर निगरानी भइरहेको छ।
प्रारम्भिक निरीक्षणमा ठूलो मात्रामा डिजेल चुहावट भएको पुष्टि भएको छैन। यद्यपि समुद्रको सतहमा सानो मात्रामा इन्धनको पत्र देखिएको अधिकारीहरूले बताएका छन्। दुर्घटनाको वास्तविक कारण र जहाजमा भएको क्षतिको विस्तृत अनुसन्धान भइरहेको छ।
इबिजा क्षेत्र समुद्री कछुवा, डल्फिन तथा दुर्लभ समुद्री चराहरूको महत्त्वपूर्ण बासस्थान हो। यहाँ पाइने समुद्री घाँसे मैदानले समुद्री पारिस्थितिक प्रणाली सन्तुलित राख्न ठूलो भूमिका खेल्ने भएकाले डिजेल चुहावट भए पर्यटन, माछापालन र समुद्री वातावरणमा दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।









