image
image
नेपालले ७७ देशका १ हजार ६३३ आरोहीलाई पर्वतारोहण अनुमति जारी गर्‍यो

नेपालले ७७ देशका १ हजार ६३३ आरोहीलाई पर्वतारोहण अनुमति जारी गर्‍यो

मंसिर १२। नेपाल सरकारले सन् २०२६ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ जना विदेशी तथा नेपाली आरोहीलाई अनुमति जारी गरेको छ। पर्यटन विभागका अनुसार १९० वटा आरोहण टोलीमा आबद्ध यी आरोहीले नेपालका ५० वटा विभिन्न हिमाल चढ्न अनुमति पाएका हुन्। अनुमति प्राप्त गर्नेमा १ हजार २५३ पुरुष र ३८० महिला आरोही रहेका छन्।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार सबैभन्दा धेरै आरोहण अनुमति फ्रान्सका नागरिकले लिएका छन्। फ्रान्सबाट १५० जना, चीनबाट १४६ जना, अमेरिकाबाट १३० जना, रुसबाट १२४ जना, बेलायतबाट ११२ जना र जर्मनीबाट १०२ जना आरोहीले अनुमति लिएका छन्। त्यसैगरी नेपालका ९० जना, स्पेनका ५६ जना, स्वीट्जरल्यान्डका ५२ जना, अस्ट्रेलियाका ४६ जना र चेक गणतन्त्रका ४२ जना आरोहीले पनि अनुमति प्राप्त गरेका छन्।

आरोहण अनुमतिबापत सरकारले अगस्ट महिनाको अन्तिम सातादेखि हालसम्म ३३ करोड ४२ लाख ८६ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम करिब २१ लाख ९७ हजार अमेरिकी डलर बराबर रहेको विभागले जनाएको छ। नेपालको हिमाल आरोहण पर्यटनबाट प्राप्त हुने राजस्वमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

यस सिजनमा सबैभन्दा बढी आरोहीको आकर्षण विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा देखिएको छ। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ वटा टोलीका ५०० जनाले अनुमति लिएका छन्। मनास्लुबाट मात्रै सरकारले २२ करोड ५८ लाख ५७ हजार रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ।

त्यस्तै, विश्वप्रसिद्ध आमादब्लम हिमाल आरोहणका लागि ४० वटा टोलीका ४७६ जनाले अनुमति लिएका छन्। यस हिमालबाट मात्रै ७ करोड १३ लाख ४७ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। त्यसैगरी हिम्लुङ हिमाल आरोहणका लागि १३० जना, धौलागिरि प्रथमका लागि ३७ जना र मकालु हिमालका लागि तीन जनाले अनुमति लिएका छन्।

यसका अतिरिक्त पुथा हिउँचुली, बरुणत्से, अन्नपूर्ण चौथो, चाम्लाङ, पुमोरी, लमजुङ हिमाल, सारिबुङ, जुगललगायतका हिमाल आरोहणका लागि पनि विभिन्न अन्तर्राष्ट्रिय टोलीले अनुमति प्राप्त गरेका छन्।

नेपालका हिमालहरू विश्वभरका पर्वतारोहीका लागि प्रमुख आकर्षण बन्दै गएका बेला आरोहण अनुमति लिनेको संख्याले पर्यटन क्षेत्रको सम्भावना उजागर गरेको छ। हिमाल आरोहणबाट प्राप्त हुने राजस्वसँगै होटल, यातायात, ट्रेकिङ, गाइड, भरिया तथा स्थानीय व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

यसले नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्द्धन गर्नुका साथै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न सहयोग पुग्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।