image
image
बाढी प्रभावित नेपाललाई अमेरिकाद्वारा ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग

बाढी प्रभावित नेपाललाई अमेरिकाद्वारा ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग

मंसिर १२। बाढीपहिरोबाट प्रभावित नेपाली समुदायको उद्धार, पुनःस्थापना तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि संयुक्त राज्य अमेरिकाले ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अमेरिकी दूतावासका अनुसार विशेषगरी गत भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायलाई लक्षित गर्दै मानवीय सहायता तथा दीर्घकालीन पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ।

नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेरा र नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी बाढीपछिको पुनःस्थापना र मानवीय सहायता समन्वयका विषयमा छलफल गरेकी छन्।

अमेरिकाले अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय सहायता कार्यक्रमअन्तर्गत युनिसेफमार्फत २५ लाख डलर उपलब्ध गराएको छ। उक्त रकम बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी, सरसफाइ, स्वास्थ्य तथा बाल संरक्षण सेवाका लागि खर्च गरिनेछ। विशेषगरी बालबालिका तथा जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राखिएको छ।

त्यसैगरी, बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा खोप सेवा पुनःस्थापना तथा खोप भण्डारण केन्द्रलाई व्यवस्थित बनाउन अमेरिकाले थप १ लाख ७६ हजार डलर सहयोग गरेको छ। यसबाट प्रभावित क्षेत्रका बालबालिकाले नियमित खोप सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

यसका अतिरिक्त अमेरिकाले आफ्नो 'अमेरिका फर्स्ट ग्लोबल हेल्थ स्ट्राटेजी' अन्तर्गत युनिसेफमार्फत १ करोड २० लाख डलर नेपालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण कार्यक्रम सुधारका लागि लगानी गर्ने भएको छ। उक्त रकमबाट स्वास्थ्य संस्थाहरूमा स्तनपान प्रवर्द्धन, शिशु पोषणसम्बन्धी परामर्श तथा आवश्यक भिटामिन र खनिजयुक्त पोषण सामग्रीको पहुँच विस्तार गरिनेछ।

अमेरिकी सहयोगबाट नेपालमा राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण सञ्चालन गर्नसमेत सहयोग पुग्नेछ। यस सर्वेक्षणले नेपाली नागरिकमा भिटामिन तथा खनिज तत्त्वको कमीको अवस्था पहिचान गरी भविष्यका पोषणसम्बन्धी नीति तथा कार्यक्रम निर्माणमा सहयोग गर्नेछ।

यसअघि गत सेप्टेम्बरमा अमेरिकाले बाढी प्रभावित क्षेत्रमा स्थायी पुल निर्माण, खानेपानी तथा सरसफाइ, आवास, जीविकोपार्जन र विपद् व्यवस्थापनका लागि थप ३ करोड १० लाख डलर सहयोग घोषणा गरेको थियो। त्यसमा १ करोड डलर स्थायी पुल निर्माण, ८० लाख डलर मानवीय सहायता तथा १ करोड ३० लाख डलर अमेरिकी प्रविधिका ड्रोन उपलब्ध गराउने योजनासमेत समावेश थियो।

यसरी अमेरिकाको कुल सहयोग प्रतिबद्धता ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको हो। उक्त सहयोगले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, प्रभावित परिवारको जीवनयापनमा सुधार तथा भविष्यमा हुन सक्ने विपद्को सामना गर्ने नेपालको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।