चीन भ्रमण सकेर स्वदेश फर्कियो राष्ट्रिय स्वतन्त्र पार्टीको टोली
मंसिर १२। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १२ दिने चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ। रास्वपाका महामन्त्री एवं सांसद विपिनकुमार आचार्यको नेतृत्वमा गएको २० सदस्यीय टोलीले नोभेम्बर १५ देखि २६ तारिखसम्म चीनका विभिन्न सहरको भ्रमण गरेको हो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका छेन्दु, हाङझाउ र बेइजिङ सहरको अवलोकन गरेको थियो। टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवादसमेत गरेको थियो। उक्त भेटमा नेपाल र चीनबीचको आपसी सम्बन्ध, राजनीतिक समझदारी तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ।
चीन भ्रमणका क्रममा टोलीले विभिन्न विश्वविद्यालय, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र तथा सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन गरेको थियो। साथै, भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनलाई चिनियाँ बजारमा पहुँच विस्तार गर्ने उपाय र नेपालमा चिनियाँ लगानीका सम्भावनाबारे समेत छलफल गरिएको थियो।
विशेषगरी युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा तथा पूर्वाधार निर्माणमा चिनियाँ लगानी भित्र्याउने विषयलाई प्राथमिकताका साथ उठाइएको टोलीका सदस्यहरूले बताएका छन्। भ्रमणका क्रममा भएका छलफल र समझदारीलाई व्यवहारमा कार्यान्वयन गर्न सम्बन्धित सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्ने रास्वपाले जनाएको छ।
यस भ्रमणलाई दुई राजनीतिक दलबीचको सम्बन्ध विस्तारसँगै नेपाल–चीन आर्थिक तथा विकास साझेदारीका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएको छ। यद्यपि, भ्रमणका क्रममा भएका छलफललाई ठोस उपलब्धिमा रूपान्तरण गर्न आगामी दिनमा हुने पहल महत्त्वपूर्ण हुने देखिन्छ।









