काठमाडौंमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण सुरु
मंसिर १२। काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास, पुनःस्थापना तथा अध्ययन अनुसन्धानका लागि विशेष विद्यालय तथा अनुसन्धान केन्द्रको भवन निर्माण सुरु गरेको छ। काठमाडौं महानगरपालिका–२९ अनामनगरमा निर्माण हुन लागेको उक्त भवनको बुधबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी हुन्।
पाँचतले संरचनामा निर्माण हुने यस भवनको कुल क्षेत्रफल १८ हजार ५०० वर्गफिट रहनेछ। भवनमा बालबालिकाका लागि खेल्ने खुला स्थान, तालिम तथा प्रशिक्षण कक्ष, प्रशासनिक कार्यालय र अनुसन्धान कक्षको व्यवस्था गरिने महानगरपालिकाले जनाएको छ। त्यस्तै, भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था हुनेछ। भवनमा आठ जना क्षमताको लिफ्ट तथा अपाङ्गतामैत्री शौचालय र कोठासमेत निर्माण गरिनेछ।
भवन निर्माणका लागि सुरुमा १० करोड ९१ लाख ७९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। तर सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको छ। निर्माण कार्य २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले अटिजम भएका बालबालिकाले पढ्न सक्छन् कि सक्दैनन् भन्नेभन्दा पनि उनीहरूको फरक आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणाली कति सक्षम छ भन्ने विषय महत्त्वपूर्ण रहेको बताइन्। उनले सबै बालबालिकालाई समान अवसर प्रदान गर्दै काठमाडौंलाई समावेशी र मानवीय सहर बनाउने महानगरको लक्ष्य रहेको उल्लेख गरिन्।
यस केन्द्रबाट अटिजम भएका बालबालिकाको शैक्षिक तथा बौद्धिक विकास, व्यवहारसम्बन्धी तालिम, सीप अभिवृद्धि र अनुसन्धानका साथै अभिभावकलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ। भवन निर्माण सम्पन्न हुँदासम्म विद्यालय सञ्चालनसम्बन्धी कार्यविधिसमेत तयार गरिने महानगरले जनाएको छ।
नेपालमा अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा र पुनःस्थापना सेवा अझै पर्याप्त रूपमा विस्तार हुन सकेको छैन। निजी संस्थामा सेवा लिनुपर्दा अभिभावकले मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको कार्यक्रममा सहभागी अभिभावकहरूले बताएका छन्।
महानगरपालिकाको यो पहलले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सरकारी पहुँच विस्तार गर्नुका साथै आर्थिक रूपमा कमजोर परिवारलाई समेत राहत पुर्याउने विश्वास गरिएको छ।









