image
image

स्वतन्त्र पहिचान जोगाएको सिन्धुलीगढी

काठमाडौँ १५ साउन  ।  वरिपरिका डाँडाकाँडा, त्यसमाथिका हिमाल शृङ्खला देखिने सिन्धुलीगढी नाका भएर नेपाललाई कब्जा गर्न इष्ट इण्डिया कम्पनी आउँदैछ भन्ने सूचना पाएपछि नेपाली फौजले यहाँका बुट्यान र रुखमा लुकेर शत्रुमाथि आक्रमण गरे । विसं १८२४ असोज महिनामा साम्राज्य फैल्याउँदै हिँडेको अङ्ग्रेज सेनाका सेनापति किनलकका नेतृत्वमा नेपालको राजधानी काठमाडौँ कब्जा गरी नेपाललाई पनि इष्ट इण्डिया कम्पनीको एउटा भाग बनाउने प्रमुख उद्देश्यले अघि बढेको थियो । यो सूचना पाएपछि नेपाली फौजल सिन्धुलीको यही डाँडामा विभिन्न गढीलगायत संरचना बनाएर एकाएक शत्रुमाथि धावा बोलेका थिए ।  


आधुनिक हातहतियारले सुसज्जित दुई हजार ४०० फौजलाई त्यसको आधा सङ्ख्यामा रहेको नेपाली फौजले परास्त गरेको थियो । नेपालीले इष्ट इण्डिया कम्पनीलाई परास्तमात्र गरेन एक हजार ६०० अङ्ग्रेज सेनालाई सिन्धुलीगढीको जङ्गलमै इहलीला समाप्त पारिदिए । सिन्धुलीगढीको बाटो काठमाडौँ प्रवेश गरी नेपाललाई आफ्नो हातमा लिने अङ्ग्रेजको योजना फेल भयो । अङ्ग्रेज सेनाका सेनापति किनलक सिन्धुलीगढीको जङ्गलमा भएको युद्धमा घाइते भएका थिए । 


नेपालको सार्वभौमिकता बचाउन सफल यो युद्धको इतिहास भावी पुस्तालाई जानकारी दिने उद्देश्यले सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण भएको छ । नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार उद्घाटन गर्नुभएसँगै आगन्तुकको भीड लाग्न थालेको छ । स्थानीयवासीलगायत बिपी राजमार्ग भएर यात्रा गर्नेको आकर्षक गन्तव्यस्थलका रुपमा यो ऐतिहासिकस्थल स्थापित हुने भएको छ ।

उद्घाटनकै दिन सङ्ग्रहालय अवलोकनका लागि पुग्नुभएका तेह्रथुमका रामचन्द्र बराल इतिहासको पानामा रहेको विषय प्रत्यक्षरुपमा अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँछन् । “पहिले सिन्धुलीढीको नाम चले पनि हेर्न लायक कुरा केही थिएन, भग्नावशेष गढीमा एउटा अग्लो झण्डामात्र राखिएको थियो, अब सङ्ग्रहालय निर्माणसँगै तत्कालीन समयमा नेपाली सेनाले देखाएको शुरता र वीरताको इतिहास प्रत्यक्षरुपमा हेने पाउँदा धेरै मानिसको आकर्षणको केन्द्र बन्ने भएको छ”, उनले भने । 
उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश, युद्धका बेला प्रयोग गरिएको तोप, त्यसबेला नेपाली सेनाले प्रयोग गरेका भाँडाकुँडा, युद्धका बेला सूचना आदानप्रदान गर्न प्रयोग भएका बाजागाजाले धेरै आगन्तुकको ध्यानाकर्षण गरेको छ ।

अवलोकनकर्ता सङ्ग्रहालय हेरेपछि त्यसबेलाको इतिहास जीवन्तरुपमै आँखाअघि आएजस्तो लागेको बताउँछन् । लामो प्रतीक्षापछि सङ्ग्रहालय हेर्न पाउँदा खुसी लागेको सुनाउनुहुने स्थानीयवासी रमिला गुरुङ नेपाल कसरी सुरक्षित बनेको रहेछ भन्ने थाहा पाउन सङ्ग्रहालयले सहयोग गरेको बताउँछन् । 

नेपाली सेनाको अग्रसरतामा नेपाल एकीकरणमा उपयोग गरिएका मार्ग, किल्ला र गढीको संरक्षण गर्ने नीतिअनुरुप यो सङ्ग्रहालय निर्माण गरिएको हो । एकीकरणका क्रममा उपयोग भएका यस्ता ऐतिहासिकस्थललाई संरक्षण गर्ने कामलाई प्राथमिकतामा राखिएको सेनाले जनाएको छ । यसलाई सरकारले पनि नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको छ । 
 
सङ्ग्रहालय उद्घाटन कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ऐतिहासिकस्थल संरक्षणलाई सरकारले प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता जनाए । युद्धको २५३ वर्षपछि सङ्ग्रहालय निर्माण भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा देशका अन्य स्थानमा रहेका यस्तै स्थललाई पनि संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गरिने प्रतिबद्धता जनाउँछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।