image
image

बजेट अभावले अस्पतालको एनआइसीयू अलपत्र

काठमाडौँ  १५ साउन  । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । रु तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो । विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए ।

“हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौँ, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ”, पोखरेलले भने, “छिमेकी जिल्लाका अस्पतालले रु तीन करोड पाउँदा धवलागिरिले रु ६० लाखमात्रै पाएको विषयमा खोजी भइरहेको छ ।”


कुनै समय सिफारिस केन्द्रका रूपमा परिचित धवलागिरि अस्पतालले बागलुङमा दुई वर्षयता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालका रूपमा विकास गरिरहेको छ । एक वर्षअघि यस अस्पतालमा तीन शय्याको सघन उपचारकक्ष स्थापना भएको थियो ।

अस्पतालमा तत्काल एनआइसीयू स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौँ तथा पोखरा धाइरहनुपर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले बताए । “हामी काम गर्न तयार छौँ र गरिरहेका छौँ, सरकार आश्वासन दिन्छ बजेट दिँदैन”, रानाले भने, “धवलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालका रूपमा विकास हुन्छ ।”

एनआइसीयू बनेमा चार सातासम्मका बालबालिकाको सुरक्षित उपचार हुने अस्पतालका बालरोग विशेषज्ञ प्रकाश थापाले बताए । अस्पतालले आपत्कालीन प्रयोगका लागि भेन्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । बाढीपहिराका कारण सडक अवरुद्ध भएर काठमाडौँ, पोखरा पुग्न नसक्दा बिनाउपकरण पनि चिकित्सक र स्वास्थ्यकर्मीले एनआइसीयू कक्ष सञ्चालन गरेर उपचार गरेका थिए । आपत्कालीन सञ्चालनका लागि समेत जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दूध चुस्न नसक्ने, श्वास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसीयूमा नै राखेर उपचार गर्नुपर्ने डा पोखरेलले बताए ।-रासस/File Photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।