image
image

मृगौला बेच्ने पुरुषभन्दा महिलाको संख्या तेब्बर, नाजुक बन्दै दिनचर्या

काभ्रे २४ असार । पाँचखाल नगरपालिका–७ जोरपीपल मिर्गौला बेच्नेको दैनिक जमघटस्थल हो । छदेखि १० सम्म समूहमा रहने उनीहरु प्रायः मदिरा सेवन गरी अस्वाभाविक अवस्थामा रहने गरेको देखिन्छ । कुनै बेला ‘बैंक अफ किड्नी’को रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएका यस क्षेत्रमा मिर्गाैला विक्रीबारे समाचार सङ्कलन तथा अनुसन्धान गर्न गएकामाथि हातपात गर्नसमेत पछि पर्दैनन् उनीहरु । होस–बेहोसमा हुने उनीहरु “हाम्रो फोटो र भिडियो लिएर जाने र पैसा कमाउने हामीलाई केही नदिने ?” भन्दै आक्रमणमा उत्रिएका थुप्रै घटना छन् । जानेर–नजानेर आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गाैला बेचेका उनीहरुको जीवनशैली दिनानुदिन कारूणिक बन्दै गएको देखिन्छ ।


विशेषगरी शारीरिक र आर्थिक अवस्था निकै कमजोर भइसकेकाले आयआर्जनका वैकल्पिक काम गर्नसमेत सकेका छैनन् । दलालले गरिबीको फाइदा उठाएर झुक्यानमा पारी शरीरको महत्वपूर्ण अङ्गमध्येको एक मिर्गाैला बिक्री गराउँदा पाँचखाल र ज्याम्दीको दर्जन समुदायको जीवनशैली दयनीय बन्दै गएको हो । स्वेच्छाले मिर्गाैला बेच्नेलाई पनि भनेको रकम नदिने पीडित बताउँछन् । एक पीडितका अनुसार मिर्गाैला बेच्ने थुप्रैलाई दुई चरणमा कोरोनाले थलायो ।

यी समुदायमा कुनैपनि निकायले दीर्घकालीन आयआर्जनका कार्यक्रम लगेको पाइँदैन । नेपाल नाजेरत सोसाइटी नामक संस्थाले हालै जोरपीपल क्षेत्रमा निःशुल्क बाख्रा वितरण गरेको सयमध्ये ३० मिर्गाैला बेच्ने परिवारले पाए । वडाध्यक्ष पुष्कर ढकालले विभिन्न निकायबाट चालु आर्थिक वर्षको शुरुमा पाँचखाल नगरमा आएको लक्षित समुदाय विकास कार्यक्रमअन्तर्गत करिब ८० मिर्गाैलापीडितलाई प्रदान गरिने निर्णय गरे पनि आवको अन्त्यमा अन्यत्रै लगिएको बताउनुभयो । उहाँका अनुसार वडामार्फत गत वर्ष भने मिर्गाैला बेचेका ८४ परिवारलाई मौरीघार वितरण गरिएको थियो ।

काभ्रेबाट केही वर्षदेखि मिर्गाैला तस्करी रोकिएको अनुमान गरिए पनि २०७५ जेठ १० गते तस्करीले बनेपा नपा–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई झुक्याएर उनको एउटा मिर्गाैला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षका थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराएका थिए । केही वर्षअघि होक्से र ज्याम्दीमा चेतनामूलक कार्यक्रम गरेको जनअधिकार संरक्षण मञ्च (पिपीआर)को प्रतिवेदनमा पाँचखाल नगरको होक्से तथा जोरपिपलका ११२, पाँचखालका १०२ तथा ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गाैला बेचेको उल्लेख गरेको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

काभे्रको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २४ वर्ष अघिदेखि मिर्गाैला तस्करी हुने गरेको थियो । होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले मिर्गाैला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । काभ्रे प्रहरीले ज्याम्दी र होक्सेमा मिर्गाैला तस्करी गर्ने सात जनालाई विसं २०७० वैशाखमा कानूनी कारवाही गरेको थियो । मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अन्र्तगत १० वर्ष कैद र रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना सजायँ हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी ब्यवस्था छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।