image
image

बाढीग्रस्त मेलम्चीमा जोडियो आधुनिक साइरन प्रविधि

काठमाडौँ १७ असार । मेलम्ची क्षेत्रमा अत्याधुनिक साइरन सिस्टम जडान गरिएको छ । मेलम्ची नगरपालिकासँगको सहकार्यमा रामलक्ष्मण इनोभेसन प्रालिले ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) अर्थात साइरन प्रविधि जडान गरेको हो ।

बाढी, पहिरो लगायत आगलागी र चोरी डकैतीका घटनामा समेत यो साइरन प्रयोग गर्न नसकिनेगरी यसको डिजाइन गरिएको छ । म्यानुअल स्विच सिस्टम समेत रहेको साइरन प्रणालीलाई मोबाइल नेटवर्कबाट समेत सञ्चालन गर्न सकिने बताइएको छ ।

मोबाइल नेटवर्क नभएको स्थानमा यो सिस्टमले ‘लोरा ब्याण्ड’ (लो इनर्जी ट्रान्समिटर) नेटवर्कमा काम गर्ने कम्पनीका सहसंस्थापक राम रिमालले बताए । त्यसो त यसमा खोलामा पानीको सतह बढ्दा स्वतः साइरन बज्ने सिस्टम समेत जडित छ ।

यसका लागि खोलामा सेन्सर राखिन्छ । तर खोलाको धार छिनछिनमा परिवर्तन भइरहेका कारण मेलम्ची क्षेत्रमा सेन्सर भने राखिएको छैन । हेलम्बु, सेरा, तालामाराङ, मेलम्ची, बाहुने पाटी, मानेखर्क, पाँचपोखरी र टिपेनीबाट साइरन बजाउन सकिने गरी त्यहाँका प्रहरी अधिकारीको मोबाइल नम्बरमा पहुँच दिइएको छ ।

साइरनका लागि १० अङ्कको छुट्टै मोबाइल नम्बर राखिएको छ । माथिल्लो तटीय क्षेत्रमा रहेका प्रहरी अधिकारीहरूले बाढी आएको थाहा पाउँदा उक्त नम्बरमा डायल गर्ने वित्तिकै साइरन बज्नुका साथै तल्लो तटीय क्षेत्रमा रहेका निश्चित व्यक्तिको मोबाइल नम्बरमा त्यस सम्बन्धी म्यासेज समेत आउँछ ।


मोबाइलका साथै म्यानुअल रुपमा साइरन बजाउन सकिने गरी छुट्टै स्विच समेत राखिएको छ । यस बाहेक मोबाइल एपबाट समेत साइरन बजाउन सकिन्छ । तर सबैसँग स्मार्टफोन हुन नसक्ने र स्विच जोसुकैले दबाउन सक्ने जोखिमका कारण हाललाई साइरन बजाउन मोबाइल नम्बर प्रयोगमा ल्याइएको हो ।

हाल तल्लो तटीय क्षेत्रमा मेलम्ची र बाहुने पाटीमा गरी दुई वटा साइरन जडान गरिएको छ । जसले मेलम्चीका ३५० घर र बाहुने पाटी ४०० घरपरिवारलाई समेट्ने कम्पनीका अर्का सहसंस्थापक लक्ष्मण रिमालले बताए ।

साइरनका लागि सोलार, ब्याट्री, इन्भर्टर, माइक र डिस्प्ले सहितको सम्पूर्ण प्याकेज नै उपलब्ध गराइएको छ । जसमा एउटा प्याकेजको लागत भ्याट बाहेक दुई लाख २० हजार रुपैयाँ रहेको छ । विजुलीका लागि हाइब्रिड सिस्टम सपोर्ट राखिएको छ ।

जसमा ६० वाट क्षमताको सोलार, ५७ एम्पियर आवरको ब्याट्री, एसी लाइन कनेक्सन, १०५० भीए इन्भर्टर र ७ इन्चको डिस्प्ले रहेको छ । मेलम्ची र बाहुने पाटीमा साइरन राखेसँगै हेलम्बु-चनौटे क्षेत्रका स्थानीयले आफ्नै पहलमा साइरन जडान गरिदिन आग्रह गरिरहेको लक्ष्मणले सुनाए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।