image
image

तरकारी खेतीमा किसानलाई अनुदान उपलब्ध

काठमाडौँ, ४, असार । व्यावसायिक तरकारी खेतीमा आकर्षण बढाउन किसानलाई अनुदान उपलब्ध गराइएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको क्षेत्रफलमा आधारित तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत गण्डकी गाउँपालिका–७ र ८ घ्याल्चोकका किसानलाई अनुदानस्वरूप रकम उपलब्ध गराइएको हो ।

घ्याल्चोक तरकारी उत्पादनको पकेट क्षेत्र हो । यी दुई वडाका किसानलाई ४७ लाख रुपैयाँ वितरण भइसकेको छ । व्यावसायिक तरकारी खेती गर्दै आएका गण्डकी–७ का गोपाल तामाङले अनुदानस्वरूप ९ हजार रुपैयाँ पाए । उक्त रकमले मल खरिद गर्ने उनको योजना छ । उनले भने, ‘यसरी अनुदान पाए साना किसानलाई फाइदा हुन्छ, खेती किसानीमा हौसला थपिन्छ ।’

वडा–७ मा ७ सय २० रोपनीमा तरकारी खेती गर्ने २ सय ७५ किसानलाई २१ लाख ६० हजार रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराएको कृषि ज्ञान केन्द्र गोरखाका कृषि प्राविधिक उमेश विष्टले बताए । बढीमा ३ र कम्तीमा २ रोपनी जग्गा हुनेलाई रकम उपलब्ध गराएको केन्द्रले जनाएको छ ।

वडा–८ मा भने ८ सय ५३ रोपनीमा तरकारी खेती गर्ने ३ सय २६ किसानलाई २५ लाख ६५ हजार रुपैयाँ अनुदान वितरण भएको छ । खुला जमिनमा तरकारी खेतीका लागि प्रतिरोपनी ३ हजार र प्लास्टिक घरभित्र गरिने खेतीका लागि प्रतिएक सय वर्गमिटर ३ हजार रुपैयाँ प्रोत्साहनस्वरूप वितरण गरिएको उनले बताए । चालु आर्थिक वर्ष तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत ६४ लाख बजेट आएको छ ।

हालसम्म झन्डै ५० लाख रुपैयाँ वितरण भइसकेको छ । ज्ञान केन्द्रले निवेदन मागेर स्थलगत निरीक्षणपछि अनुदान वितरण थालेको हो । जिल्लाका ९ सय किसानले अनुदानका लागि आवेदन दिएका थिए । प्रक्रिया पुगेकालाई स्थलगत निरीक्षणपछि रकम उपलब्ध गराएको विष्टले बताए । कार्यक्रमले व्यावसायिक तरकारी खेती गर्ने किसानलाई प्रोत्साहन भएको तथा तरकारी खेतीमा रुचि राख्ने किसानको आकर्षण बढ्ने ज्ञान केन्द्रको अपेक्षा छ ।

‘अझै केही किसान प्रक्रियामा हुनुहुन्छ, उहाँहरूलाई रकम वितरणको प्रक्रियामा छौँ,’ उनले भने । वडा कार्यालयको सिफारिसमा रोपनी खुलेको कागजात वा लालपुर्जा वा भाडामा लिएको भए करारनामासहितको सम्झौतापत्रको आधारमा अनुदान उपलब्ध गराउने प्रावधान छ । अनुदान वितरणसँगै किसानका खेतबारीमा कृषि प्राविधिकले नियमित स्थलगत अध्ययन गरे सहज हुने घ्याल्चोकका फणीन्द्र खनालले बताए ।

‘७/८ रोपनीमा तरकारी खेती गरेको छु, मल, बीउका लागि अनुदान लिएको थिइनँ,’ उनले भने, ‘अनुदानसँगै कृषि प्राविधिकबाट नियमित निरीक्षण भए हाम्रा समस्या सुनाउन पाउथ्यौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।