कुन वस्तुको कति छ मौज्दात ?
काठमाडौँ २ असार- मन्त्रालयको तथ्याङ्क अनुसार असार १ गतेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १० हजार ८१६ मेट्रिक टन चामल र ११ हजार ४९२.९२ क्विन्टल गहुँ मौज्दात रहेको छ । हाल खाद्यसँग रहेको १० हजार ८१६ मेट्रिक टन चामल मध्ये दुर्गम जिल्लाहरूमा ३ हजार २८६ मेट्रिक टन चामल रहेको छ । त्यस्तै ५ हजार मेट्रिक टन चामल बोलपत्र पक्रियाबाट खरिद हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग आयोडिनयुक्त नुन एक लाख ४८ हजार २०७.६८ मेट्रिक टन मौज्दात रहेको छ । जसमा दुर्गम जिल्लामा २ हजार ४६२ मेट्रिक टन नुन रहेको छ । यसले आयात नभएको अवस्था पनि घटिका ८ महिनासम्मको बजार माग धान्न पुग्ने मन्त्रालयको भनाइ छ । नुनको आपूर्तिमा कुनै समस्या नआउने मन्त्रालयले बताएको छ ।
त्यस्तै, चिनीको हकमा हाल लास्टसँग ६९९ मेट्रिक टन मात्र चिनी मौज्दात रहेकोमा, निजी क्षेत्रसँग करिब २१ हजार ५७ मेट्रिक टन चिनी रहेको र आपूर्ति व्यवस्थासमेत नियमित रहने हुँदा समस्या नआउने मन्त्रालयले बताएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेलको निरन्तर आयात भइरहेको र आवश्यक मात्रामा मौज्दात समेत रहेको बताएको छ ।
नेपाल आयल निगमका अनुसार हालसम्म पेट्रोलियम पदार्थ एवं खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था नियमित र सहज रूपमा भइरहेको छ । आयातमा कुनै अवरोध वा समस्या छैन । निगमका अनुसार मातिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट अहिले पनि नियमित रूपमा डिजेल आयात भइरहेको छ भने, हालसम्म पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन समेत गरी कुल ४५ हजार १२१ किलोमिटर पेट्रोलियम पदार्थ निगमसँग मौज्दात रहेको छ ।
त्यस्तै जेठ १ देखि ३० गतेसम्म पेट्रोल २६ हजार ९५६ के.एल, डिजेल १ लाख २५ हजार ७७३ के.एल, मट्टितेल १ हजार ९७२, हवाई इन्धन २१६ केएल र खाना पकाउने एल.पी ग्याँस १७ हजार ८०७ मे.टन आयात भएको छ । यसै गरी सोही अवधिमा पेट्रोल २७ हजार ३११ केल, मट्टितेल १७७४ के.एल, हवाई इन्धन १५३८ के.एल र खाना पकाउने एल.पी.ग्याँस १७ हजार ८०७ मे.टन बिक्रि वितरण भएको छ ।









