image
image

भारतले कोरोना खोप निर्यात रोकेपछि दक्षिण एसियाली मुलुकको आँखा चीनतिर

काठमाडौं, १६, आइतबार । यस वर्षको फेब्रुअरी महिनामा भारतले नेपाल सहित दक्षिण एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गरायो । यति मात्र होइन, संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट भारतमा नै रहेका कारण दक्षिण एसियाली मुलुकले खरिदको प्रक्रिया अगाडि बढाए ।

पहिलो मात्रा सेरमले उत्पादन गरेको एष्ट्राजेनिका लगाएका कारण अधिकांश दक्षिण एशियाली मुलुकको वाध्यता दोस्रो मात्राका लागि त्यही खोप खरिद गर्नु थियो । मूल्य, तापक्रम र ढुवानीको हिसाबले दक्षिण एसियाली मुलुकलाई भारतबाट नै खोप खरिद गर्नु सहज थियो, त्यसैले उनीहरुले अन्य मुलुकबाट खोप प्राप्त गर्न त्यति पहल गरेनन् । अर्को चीनको खोपलाई विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि अनुमति दिन ढिलाइ गरेका कारण पनि यी मुुलुकले खोप खरिदमा त्यति तदारुकता देखाएनन् ।

तर, भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै भारतले पहिला अघोषित र पछि घोषित रुपमा नै निर्यात बन्द गर्‍यो । आफ्नो आवश्यकता भारतले नै पुरा गर्छ भनी ढुक्क रहेका मुलुकलाई यो ठूलो झड्का थियो । त्यसपछि दक्षिण एसियाली मुलुकले साझा समस्या भोगे( पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज कसरी उपलब्ध गराउने ।

यही समस्या अहिले नेपालले पनि भोगिरहेको छ । १३ लाख कोभिशिल्ड खोप लगाएकाहरुले ९ हप्ता वितिसक्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन् । यो समस्या बंगलादेश र भुटानमा पनि देखिएको छ ।भारतबाट तत्काल खोप आउने सम्भाबना नभएपछि खोप खरिदका लागि दक्षिण एसियाली मुलुकले चीनतर्फ आँखा लगाएका छन् ।

बंगलादेशले त चीनसँग खोप खरिदका लागि सम्झौता नै गरिसकेको छ । दि डेल्लीस्टार दैनिकका अनुसार बंगलादेशले प्रतिडोज १० डलरमा खरिदका लागि चीनसँग सम्झौता नै गरिसकेको छ ।
नेपालले पनि चीनसँग ५० लाख खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ तर अहिलेसम्म खरिद सम्झौता भने भइसकेको छैन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खोप खरिदमा अबको १० दिनमा नै ‘बे्रक थ्रु’ हुने दाबी गरेका छन् ।

खरिद प्रक्रिया अगाडि बढेसँगै दक्षिण एसियाली मुलुकलाई चीनले अनुदानमा थप खोप उपलब्ध गराउन समेत गराउन थालेको छ । नेपाललाई चीनले थप १० लाख डोज अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।

चीनले श्रीलंकालाई पनि खोप उपलब्ध गराइरहेको छ । टाइम्स अफ इन्डियाका अनुसार अघिल्लो साता श्रीलंकालाई चीनले थप ५ लाख खोप अनुदानमा उपलब्ध गराएको छ । यस अगाडि मार्च महिनामा चीनले श्रीलंकालाई ६ लाख डोज उपलब्ध गराएको थियो । योसँगै श्रीलंकाले पनि चीनसँग खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

दक्षिण एसियामा सबैभन्दा पहिला चिनियाँ खोप प्राप्त गर्ने मुलुक पाकिस्तान् हो । भारतले सबै छिमेकीलाई खोप उपलब्ध गराए पनि पाकिस्तान्लाई भने उपलब्ध गराएको थिएन । चीनबाट केही खोप अनुदानमा पाएपछि पाकिस्तानले चीनबाटै थप खोप खरिद गरिरहेको छ ।

यतिबेला भुटान पनि दोस्रो चरणको खोप अभियान सन्चालन गर्न खोपको खोजीमा छ । उसले भारतसँग कुराकानी गरिरहेको छ तर खोप पाउने हो वा नपाउने कुनै टुंगो छैन । उसले चीनसँग खरिदका लागि प्रक्रिया भने अगाडि बढाएको छै्रन । भुटान र चीनको बीचमा अहिलेसम्म कूटनीतिक सम्बन्ध पनि स्थापना भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।