image
image

बन्दाबन्दीको असर : दुग्धजन्य पदार्थको कारोबारमा ह्रास

टीकापुर, १४ जेठ : कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध बिक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् ।

जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असङ्गठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् । दूधमा आत्मनिर्भर जिल्ला यो जिल्लामा दैनिक ४० हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमा ३० हजार लिटर जिल्लामै खपत हुने र १० हजार लिटर काठमाडौ जाने गरेको किसान शिव थापाको भनाइ छ ।
यहाँको दूध खपत डडेल्धुरा र डोटीबाट समेत कैलालीमा पनि निर्यात हुन्छ । अत्तरियामा रहेको दूग्ध चिस्यान केन्द्रले कैलालीको बचेको र डडेल्धुरा र डोटीबाट आयात गरिएको दुग्धजन्य पदार्थ अन्य जिल्लामा निर्यात गर्ने गर्दछ । थापा भन्नुहुन्छ, ‘‘बन्दाबन्दीपछि आयात र खपत समेत घटेको छ । हाल दूध उत्पादन समेत घटेको छ । बन्दाबन्दीका कारण किसानलाई दाना पाउनसमेत समस्या भएको छ ।’’

यस वर्ष घाँस उत्पादनमा समेत हस आएकाले उत्पादन समेत घटेको किसानको गुनासो छ । किसानले दूध खपत नभएपछि पाडापाडीलाई बढी खुवाउने, घरमै खपत गर्ने वा घ्यू उत्पादन गर्ने जस्ता कार्य गरिरहेको थापा बताउनुहुन्छ । ‘‘टीकापुरमा मात्रै दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । अहिले दुई हजार लिटर उत्पादन घटेको छ । खपत पनि आधा घटेको छ’’, थापाले भन्नुभयो, ‘‘एकातिर काम गर्नुपर्ने भएकाले किसानलाई सङ्क्रमणको जोखिम छ, कामदारलाई नियमित काममा लगाउन जोखिम छ, अर्कोतर्फ लकडाउनले दुग्ध व्यवसायीलाई घाटा भइरहेको छ ।’’


विगतका वर्षमा गर्मी समयमा दुग्धजन्य पदार्थको अभाव हुन्थ्यो । यो समय दूध बढी खपत हुने समय हो । यस वर्ष बजारमा मानिसको चहलपहल घटेसँगै उनीहरुको व्यापार पनि घटेको हो । दूध तथा दुग्धजन्य पदार्थको माग घट्दा गाई, भैँसीपालक किसानदेखि व्यापारीहरु मर्कामा परेका गुनासो बढेको छ ।

बन्दाबन्दीअघि दैनिक १३० लिटरसम्म दूध सङ्कलन गर्दै आइरहेको टीकापुर–१ वनगाउँको देउराली भन्ज्याङ सहकारीले अहिले ७० लिटरसम्म मात्र दूध सङ्कलन गरिरहेको छ । सहकारीका अध्यक्ष सुन्दर भगोरिया सहकारीमा दूध खपत घटेकाले सहकारीले सङ्कलन कार्य समेत घटाएको बताउनुभयो । ‘‘यो समयमा दूध पुगाउन मुश्किल हुन्थ्यो, यस वर्ष मानिस खान चाहेर पनि किन्न आउन डराउन थालेका छन्’’, उहाँले भन्नुभयो, ‘‘आधा व्यापार घटेको छ ।’’ सहकारीलाई बन्दाबन्दी हुनुअघि १३० लिटरसम्म दूध सङ्कलन गरेर पनि ग्राहकलाई पु¥याउन धौ–धौ हुने गरेको सहकारीलाई अहिले ७० लिटर दूध बिक्री गर्न पनि कठिन भएको छ ।

गाउँका किसानबाट दूध सङ्कलन गरी बजारमा बेच्दै आउनु भएका टीकापुर–३ चौतारा टोलका कलम विकले लकडाउनअघि दैनिक ८० लिटर दूध बजारमा बिक्री गर्दै आउनु भएको थियो । हाल उहाँले पनि आधा दूध मात्र खपत भइरहेको बताउनुभयो । ‘‘हाल दूध बिक्री घटेको छ । नागरिक दूध किन्दा पनि सङ्क्रमण हुन्छ कि भनेर डराउन थालेका छन्, अझ बजारमा घरभाडामा बस्नेहरु अधिकांश गाउँ फर्किएका छन्’’, विकले भन्नुभयो, ‘‘त्यसैले मैले पनि गाउँबाट ३० देखि ४० लिटरसम्म दूध खरिद गर्ने गरेको छु ।’’

सहकारी र सङ्कलकले दूध लिन छोडेपछि भैँसीपालक किसान मर्कामा परेका हुन् । घरमा पालेका भैँसीको दूध बेचेर घर खर्च चलाइरहेका किसानलाई दूध बिक्री हुन छोडेपछि समस्या भएको हो । भैँसीपालक किसान खेमा विकको घर दूध बेचेरै चल्छ । हाल दूध खपत नभएपछि खेमालाई तनाब भएको छ । ‘‘हाल दूध खपत घटेको छ । दूध बिक्री नभए घरका लागि चाहिने अन्नपात जोहो कसरी गर्नु रु’’, खेमाले भन्नुभयो, ‘‘रोगव्याधी, महामारी विपत्ती जे आउँदा पनि मर्का हामी गरीब किसानलाई हुने गर्दछ ।’’-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।