अब सरकारी अस्पतालमा पनि अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने
ई–अपोइन्टमेन्ट सेवा दिने विषयमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तर्फबाट मेडिकल डाइरेक्टर डा. चन्द्रमणि अधिकारी र कोजेन्ट हेल्थका तर्फबाट प्रबन्ध निर्देशक डेनियल डि श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै शहीद गंगालाल अस्पतालमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेशनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।
कोजेन्ट हेल्थ र इसेवाद्वारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्टलगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्यजस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन्।









