image
image
नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, अनलाइनबाटै आवेदन दिन सकिने

नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, अनलाइनबाटै आवेदन दिन सकिने

असोज २९। नेपाल टेलिकमका नयाँ प्रिपेड सिमकार्ड अब हुलाक सेवामार्फत सेवाग्राहीको घरदैलोसम्मै उपलब्ध हुने भएका छन्। नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा ‘हुलाक–सिम सेवा’ सुरु गरिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बुधबार उक्त सेवाको शुभारम्भ गरेका हुन्। नयाँ व्यवस्थासँगै सिमकार्ड लिन टेलिकमको कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यस सेवाअन्तर्गत ग्राहकले घरमै बसेर अनलाइन आवेदन दिन सक्नेछन्। त्यसका लागि नेपाल टेलिकमको वेबसाइट esim.ntc.net.np मा प्रवेश गरी ‘Postal SIM Portal’ छनोट गर्नुपर्नेछ। त्यसपछि आफ्नो व्यक्तिगत विवरण, सिमकार्ड प्राप्त गर्ने ठेगाना, नजिकको चिनारी स्थल, फोटो तथा नागरिकता वा राहदानीको प्रतिलिपि अपलोड गरी नजिकको नेपाल टेलिकम काउन्टर छनोट गरेर आवेदन पेस गर्न सकिनेछ। टेलिकमले आवश्यक कागजात तथा विवरण जाँच गरी आवेदन स्वीकृत गरेपछि सेवाग्राहीले अनलाइनबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्।

नयाँ सिमकार्डका लागि ९० रुपैयाँ र हुलाकमार्फत घरसम्म पुर्‍याउन थप ७० रुपैयाँ शुल्क लाग्नेछ। यसरी सेवाग्राहीले जम्मा १६० रुपैयाँ तिरेर नयाँ प्रिपेड सिमकार्ड प्राप्त गर्न सक्नेछन्। भुक्तानीका लागि मोबाइल बैंकिङ, डिजिटल वालेट तथा नमस्ते पे प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। सिमकार्ड पठाइसकेपछि कहाँ पुगेको छ भन्ने जानकारीसमेत अनलाइनबाट ट्र्याक गर्न सकिनेछ।

सेवा सञ्चालनसम्बन्धी विवरणअनुसार आवेदन स्वीकृत भई भुक्तानी पूरा भएपछि सहरी क्षेत्रमा करिब दुई घण्टाभित्र र ग्रामीण क्षेत्रमा बढीमा तीन दिनसम्ममा सिमकार्ड पुर्‍याउने लक्ष्य राखिएको छ। सेवाको शुभारम्भका क्रममा सञ्चारमन्त्रीले आवेदन दिएपछि आवश्यक प्रमाणीकरण र भुक्तानी पूरा गरी करिब ३० मिनेटमै सिमकार्ड प्राप्त गरेका थिए। उनले हुलाक सेवाको देशव्यापी सञ्जाल उपयोग गर्दै नागरिकलाई सकेसम्म छिटो सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

यस व्यवस्थाले विशेषगरी टेलिकम कार्यालयबाट टाढा बसोबास गर्ने नागरिक, ज्येष्ठ नागरिक, व्यस्त सेवाग्राही तथा ग्रामीण क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने अपेक्षा गरिएको छ। सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने समय र खर्च घटाउनुका साथै हुलाक सेवालाई आधुनिक वितरण प्रणालीका रूपमा विकास गर्न पनि यसले सहयोग पुर्‍याउने विश्वास गरिएको छ। आगामी दिनमा पोस्टपेड सिमकार्ड तथा टेलिकमका अन्य सेवासमेत अनलाइन माध्यमबाट उपलब्ध गराउने सम्भावनाबारे पहल गर्न मन्त्रीले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।