image
image

सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै

माघ १७, बैतडी । कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । 

कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।  

झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल दार्चुलाको गोकुलेश्वर पुगेको उनको भनाइ छ । उनले भने, ‘नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।’

झुलाघाट बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको पिथौरागढ जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका बन्द भएकाले व्यापारी संकटमा परेका हुन् । 

गएको चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको झुलाघाट बजार पूर्णरुपमा बन्द रहेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशी बताउँछन् । उनले भने, ‘नेपाली सामग्री किन्नका लागि भारतको पिथौरागढबाट समेत ग्राहक आउने गरेका थिए तर कोरोनाको महामारीले नाका बन्द भएपछि ग्राहक आउन सकेका छैनन् ।’

नाका बन्द भएपछि झुलाघाटमा ४० भन्दा बढी व्यापारीको व्यापार व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको व्यापारी डम्मर जोशीले गुनासो सुनाए । उनले भने, ‘तयारी कपडा किन्नका लागि भारतीय ग्राहक आउने गर्दथे । खास गरेर हिउँदको समयमा धेरै ग्राहक आउने गर्दथे । अहिले सीमानाका बन्द भएपछि व्यवसाय पूरै खस्किएको छ ।’

सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ । भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले यो झुलाघाट बजारसमेत सुनसान बनेको भारतीय पत्रकार प्रमोद भट्ट बताउँछन् । उनले भने, ‘सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या रहेको छ । सीमानाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।’

सीमानाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीले आन्दोलनसमेत गर्दै आएका छन् । केही दिनअघि उनीहरुले सीमा पुलमै धर्ना दिएर आन्दोलन गरेका थिए । झुलाघाट नाका खोल्ने निर्णय नेपाल सरकारले गरेको भए पनि भारतीय पक्षले शुक्रवारसम्म सहमति जनाएको छैन । नेपाल सरकारले नाका खोलेको भए पनि भारतीय पक्ष भने नाका खोल्न सहमत नरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 

उनले भने, ‘नाका खोल्ने विषयमा हामीले नेपाल सरकारको निर्णयसहित जानकारी गराइसकेका छौँ । नेपाल सरकारले नाका खुला गरेको भए पनि यसमा भारतीय पक्ष सहमत भएको छैन ।’ लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती बजारका व्यापारीले भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । 
 
नाका नियमित खुल्ने
नेपाल सरकारले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाट नाकासहित कैलालीको गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको खलंगा गरी चार नाका खोल्ने निर्णय गरिसकेको छ ।

यसअघि झुलाघाट नाकामा अत्यावश्यक काम परेकाका लागि सोमवार र शुक्रबार हप्ताको दुई दिन आवतजावत गर्न दिइएको थियो । अब भने नियमितरुपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । 

कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आवतजावत गर्न दिइने भएको हो । तर भारत सरकारले भने यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले अझै पनि कहिले सहमत हुने भन्ने टुंगो नलागेको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । 

उनले भने, ‘नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं, भारतले सहमति जनाएको दिनदेखि नै नाका नियमित सञ्चालनमा आउँछ ।’ नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन् । उनले भन, ‘नाका बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका नियमितरुपमा सञ्चालनमा आएपछि सहज हुने विश्वासमा छौँ ।’ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।