image
image

हिमालयन र नेपाल इन्भेष्टमेन्ट मर्जरमा

काठमाडौं । लामो समयदेखि छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्ततः मर्जरमा जान सहमत भएका छन् । दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज हुन प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले मर्जरमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रअनुसार मर्जपछि बैंकको नाम ‘हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंक’ रहनेछ । यस्तै, बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक राणा हुनेछन् । यस्तै डेपुटी सीईओ ज्योति पाण्डे हुनेछन् । सञ्चालक समितिमा दुवै बैंकबाट ३–३ जना रहनेछन् । नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालक छानेर ७ जनाको समिति बनाउने छ । इन्भेष्टमेन्ट बैंकको कार्यालय भाडामा भएकाले मर्जरपछि केन्द्रीय कार्यालय कमलादीस्थित हिमालयन बैंकमा रहने निर्णय भएको छ ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बिग मर्जर भएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी चुक्ता पूँजीमा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने बैंकको दाबी छ । चालू आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार हिमालयनको चुक्ता पूँजी रू. १० अर्ब ६८ करोड र इन्भेष्टमेन्टको १६ अर्ब २५ करोड छ । मर्जपछि कुल चुक्ता पूँजी रू. २६ अर्ब ९४ करोड हुनेछ । बैंकको अन्य परिसूचकमा जगेडा कोषअन्तर्गत हिमालयनको रू. ७ अर्ब ६७ करोड र नेपाल इन्भेष्टमेन्टको रू. १४ अर्ब १० करोड रहेको छ । इन्भेष्टमेन्टको कर्जा लगानी रू. १ खर्ब ६० अर्ब ९८ करोड र निक्षेप रू. १ खर्ब ६८ अर्ब २९ करोड रहेको छ भने हिमालयनको कर्जा लगानी रू. १ खर्ब २७ अर्ब १४ करोड र निक्षेप रू. १ खर्ब ४३ अर्ब ७० करोड रहेको छ ।

अब दुवै बैंकको ३–३ जनाको मर्जर कमिटीले उपसमिति बनाएर प्रशासनको कामहरू कसरी गर्ने, संरचना कस्तो बनाउने, कर्मचारी र शाखा व्यवस्थापन कसरी गर्ने भनेर काम थाल्ने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताए । उनका अनुसार सकभर असारमसान्तसम्म टुंग्याउने गरी मर्जरको प्रक्रिया अघि बढाइएको छ ।

‘तर, कोभिड महामारीले गर्दा केही समय लम्बिन सक्छ ।’ हिमालयन बैंकमा रहेको हबिब बैंकको २० प्रतिशत संस्थापक शेयर विक्रीको कुरा चलिरहे पनि मर्जर प्रक्रियाभर औपचारिक विक्री स्थगित रहने अध्यक्ष गौतमले जानकारी दिए ।
-आर्थिक अभियान दैनिकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।