भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यात गर्न स्वीकृति
मंसिर ३। नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापन गर्न भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न स्वीकृति प्राप्त गरेको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारमार्फत दैनिक १७ घण्टासम्म विद्युत् खरिद गर्न अनुमति दिएको हो। उक्त स्वीकृति सन् २०२६ नोभेम्बर १७ देखि २०२७ जुलाई ३१ सम्म लागू हुनेछ। यसैगरी नेपालले तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा निर्यात गर्न पनि अनुमति पाएको छ। भोटेकोशी बाढीका कारण ४३१ मेगावाट क्षमताका जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएकाले हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। नयाँ स्वीकृतिले देशभित्रको विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









