एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा काठमाडौं र विराटनगर भिड्दै
कार्तिक २०। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुईवटा रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ।
लुम्बिनी लायन्स जारी प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ। तीन खेलबाट पाँच अंक जोड्दै टोली अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको लुम्बिनी आज पनि जितको लय कायम राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
यता जनकपुर बोल्ट्स चार खेलबाट चार अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा रहेको छ। पछिल्लो खेलमा विराटनगर किंग्ससँग केवल दुई रनले पराजित भएको जनकपुर आजको खेल जित्दै पुनरागमन गर्ने प्रयासमा हुनेछ।
आजको दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुने तालिका छ। विराटनगर पछिल्लो खेलमा जनकपुरलाई दुई रनले हराएको आत्मविश्वाससहित मैदानमा उत्रिनेछ भने काठमाडौं पनि आफ्नो पक्षमा नतिजा निकाल्ने लक्ष्यमा हुनेछ।
एनपीएलको जारी संस्करणमा सहभागी आठवटै टोली उपाधि दौडमा रहेका छन्। त्यसैले आजका दुवै खेल अंकतालिकाको समीकरण बदल्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।









