बाँकेका युवाले फूल खेतीबाट थाले व्यावसायिक उद्यम
कार्तिक १९। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ फुटाहाका तीन युवाले व्यावसायिक फूल खेतीमार्फत स्वरोजगारको नयाँ उदाहरण प्रस्तुत गरेका छन्। कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले ‘फिट फार्म’ सञ्चालन गरी १० कट्ठा जग्गामा सयपत्री फूल खेती सुरु गरेका हुन्। उनीहरूले चितवनबाट बीउ ल्याएर गत साउनदेखि खेती सुरु गरेका थिए।
सानो लगानीबाट सुरु गरिएको खेतीबाट तिहारअघि नै ५० हजार रुपैयाँभन्दा बढीको फूल बिक्री भइसकेको छ। फूलको माग बढ्दै गएपछि स्थानीय उपभोक्ताबाट अग्रिम बुकिङसमेत भइरहेको छ। बुटवल, दाङ, काठमाडौं र सुर्खेतबाट समेत माग आए पनि युवाहरूले स्थानीय बजारलाई प्राथमिकता दिएका छन्। सामाजिक सञ्जालमार्फत फूलको प्रचारप्रसार तथा बजारीकरण गर्दै आएका उनीहरूले आगामी दिनमा तरबुजा र स्ट्रबेरी खेतीसमेत विस्तार गर्ने योजना बनाएका छन्।
यसैबीच, बाँकेमा करिब १३ बिघा क्षेत्रफलमा विभिन्न जातका फूल खेती भइरहेको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै भारतीय फूलमाथिको निर्भरता घटाउन सके पुष्पखेतीले जिल्लामा रोजगारी र आम्दानीको राम्रो सम्भावना सिर्जना गर्ने देखिएको छ। कृषि शिक्षालाई व्यवहारमा उतार्दै उद्यमशीलताको बाटो रोजेका यी युवाहरूको प्रयासले अन्य युवालाई पनि स्वदेशमै केही गर्न प्रेरणा दिएको छ।









