माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कार्तिक १९। सार्वजनिक जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मोरङको रिजाल क्यानिङ एन्ड कम्पनीसँग सम्बन्धित जग्गा प्रकरणमा अख्तियारले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। आयोगका अनुसार हदबन्दी छुटमा प्राप्त जग्गा उद्योग सञ्चालनमा प्रयोग नगरी सट्टापट्टा र बिक्री गरिएको थियो।
आरोपपत्रमा तत्कालीन प्रधानमन्त्री नेपाल र मन्त्री रिजालसहित विभिन्न सरकारी अधिकारी तथा कम्पनीसँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। मुद्दामा अदालतको अन्तिम फैसला आउन बाँकी छ।









