आज एनपीएलमा खेल नहुने, भोलि दुई खेल हुँदै
कार्तिक १९। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बुधबार कुनै पनि खेल सञ्चालन नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार आज प्रतियोगितामा विश्राम दिन राखिएको हो। प्रतियोगिताका यसअघिका खेलपछि खेलाडीलाई आराम दिन आज खेल नराखिएको हो।
प्रतियोगिताअन्तर्गत भोलि बिहीबार भने दुई खेल सञ्चालन हुनेछन्। पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।









