image
image
तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिए

तिहारका लागि मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बेँसी झारिए

कार्तिक २०। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट एक हजार ५९१ भेडाच्याङ्ग्रा बिक्रीका लागि बेँसी झारिएका छन्। तिहारलाई लक्षित गर्दै उपल्लो मुस्ताङ र डोल्पाबाट जोमसोम हुँदै भेडाच्याङ्ग्रा बजारतर्फ ल्याइएको हो।

मुस्ताङस्थित कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालका अनुसार व्यापारीहरूले एक हजार ३८५ च्याङ्ग्रा र २०६ वटा भेडा बिक्रीका लागि बेँसी झारेका हुन्। तीमध्ये मुस्ताङका किसान तथा व्यापारीबाट एक हजार १५० च्याङ्ग्रा र १३६ भेडा ल्याइएको छ भने उपल्लो डोल्पाबाट मुस्ताङ हुँदै २३५ च्याङ्ग्रा र ७० भेडा बजारतर्फ पठाइएको छ।

तिहारका लागि ल्याइएका भेडाच्याङ्ग्रा काठमाडौं, पोखरा, बागलुङ र म्याग्दीबाट पुगेका व्यापारीहरूले खरिद गरी विभिन्न बजारमा बिक्रीका लागि लैजाने गरेका छन्। यसरी जिल्लाबाहिर लैजानुअघि सम्बन्धित पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणित गर्नुपर्ने व्यवस्था रहेको छ। कार्यालय प्रमुख अर्यालका अनुसार बजार पठाइएका भेडाच्याङ्ग्राको भेटेरिनरी परीक्षणसमेत गरिएको छ।

यसअघि दसैँ पर्वलाई लक्षित गरी मुस्ताङबाट १५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा बाहिरिएका थिए। तर तिहारका लागि भने दसैँको तुलनामा करिब १० प्रतिशत मात्रै भेडाच्याङ्ग्रा बेँसी झरेको कार्यालयले जनाएको छ।

मुस्ताङका घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर र लोमान्थाङ गाउँपालिकाका किसानले पुस्तौँदेखि भेडाच्याङ्ग्रा पालन गर्दै आएका छन्। उच्च हिमाली क्षेत्रको चिसो हावापानी र प्राकृतिक चरनमा हुर्काइने भएकाले दसैँ तथा तिहारजस्ता चाडपर्वमा यस्ता भेडाच्याङ्ग्राको माग विशेष रूपमा बढ्ने गरेको छ।

पछिल्लो समय पशु बीमा, गोठ सुधार तथा आहार व्यवस्थापनमा सरकारी अनुदानका कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालन व्यवसायप्रति किसानको आकर्षण बढेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ। यद्यपि जलवायु परिवर्तन, चरन क्षेत्रको समस्या, पानीका मुहान सुक्दै जानु र हिमचितुवालगायत वन्यजन्तुको जोखिमले हिमाली पशुपालन व्यवसाय चुनौतीपूर्ण बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।