प्लास्टिकका फूल तथा माला बिक्रीमा प्रतिबन्ध, बेचे जफत गरिने
कार्तिक २०। काठमाडौं महानगरपालिकाले तिहार पर्वलाई लक्षित गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकका फूल तथा माला बिक्री नगर्न र स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको हो।
महानगरपालिकाका अनुसार प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ। महानगरले वातावरणीय प्रदूषण नियन्त्रण गर्नुका साथै नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूलले बजार पाऊन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ।
यसैगरी, नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्री गर्न महानगरपालिकाले बानेश्वर, शंखमूल, चाबहिल, तीनकुने, सिफल, बत्तीसपुतली, स्वयम्भू, कालिमाटी, कलंकी, महाराजगञ्ज, गोंगबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्युरोड र भृकुटीमण्डपलगायतका स्थान तोकेको छ।
महानगर प्रहरी बलले तोकिएका स्थानमा फूल बिक्री गर्ने किसान तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने जनाएको छ।
तिहारमा घर, मन्दिर तथा सार्वजनिक स्थान सजाउन फूलमालाको अत्यधिक प्रयोग हुने भएकाले यस समयमा फूलको माग पनि बढ्ने गर्दछ। यस्तो अवस्थामा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके नेपाली किसानले उचित मूल्य पाउनुका साथै फूल खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलभन्दा प्राकृतिक फूल तथा स्थानीय उत्पादनबाट बनेका मालाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।









