बैतडीमा जीप दुर्घटना, एक महिलाको मृत्यु, ६ जना घाइते
कार्तिक २०। बुधबार राति करिब ८ बजे बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलाको जिरो पोइन्टमा जीप दुर्घटना भएको हो। डडेल्धुराबाट पञ्चेश्वर गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा सोही ठाउँका २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनाश राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र ३६ वर्षीय जीप चालक सन्तोष राम लुहार घाइते भएका छन्।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार गरिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।









