सुपर-६ मा नेपाल र युएईको टक्कर आज, विश्वकपका लागि निर्णायक मोड
काठमाडौँ । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोट अन्तर्गत सुपर-६ चरणमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। खेल आज (आइतबार) अपराह्न ४:१५ बजे अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुनेछ।
समूह चरणमा नेपालले कुवेत र जापानलाई हराउँदै समूह विजेता बनेको थियो। नेपालसँगै समूह २ बाट जापान पनि सुपर-६ मा पुगेको छ। तर, सुपर-६ मा आफ्नै समूहका टोलीसँग खेलाइँदैन। यद्यपि ती टोलीसँगको नतिजा भने सुपर-६ तालिकामा समावेश गरिन्छ।हालसम्म सुपर-६ मा नेपाल, युएई र ओमानले समान २-२ अंक जोडिसकेका छन्।नेपालले सुपर-६ अन्तर्गत दोस्रो खेल सोमबार कतारसँग, तेस्रो खेल बुधबार घरेलु टोली ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने तालिका छ।
सुपर-६ चरणको अन्त्यमा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्। यदि नेपाल शीर्ष तीनमा पर्ने हो भने, उसले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउनेछ।