सर्लाहीमा मोटरसाइकल पुलबाट खस्दा चालकको मृत्यु
काठमाडौं - सर्लाहीको बरहथवा नगरपालिका– १७, कटानीमा मंगलबार बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा मलंगवा नगरपालिका–४ का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको छ । दुर्घटना मंगलबार बिहान करिब पौने ३ बजे भएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार ना ४६ प २८२० नम्बरको मोटरसाइकल कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा अनियन्त्रित भई वडा कार्यालय नजिकैको पुलमा ठोक्किएर तल खसेको थियो।
दुर्घटनामा रायको टाउको, निधार र आँखामा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै बरहथवास्थित भेनस अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बारा स्थित एलएस न्यूरो अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।









