थाइल्याण्डकी ओपल सुचाता चुआङ्स्री मिस वर्ल्ड २०२५ विजेता
काठमाडौँ - विश्व सुन्दरीको प्रतिष्ठित उपाधि मिस वर्ल्डको ७२औं संस्करणको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआङ्स्रीले जितेकी छन्। मे ३१ शनिबार हैदराबादको हाइटेक्समा सम्पन्न भव्य समापन समारोहमा उनलाई ७१औं मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ताज पहिराइदिएकी हुन्।
अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरिरहेकी ओपलको भविष्यमा राजदूत बन्ने आकांक्षा छ। मनोविज्ञान र मानवशास्त्रमा रुचि राख्ने उनले स्तन क्यान्सरसम्बन्धी संस्थाहरूमा स्वयंसेवा गर्दै सामाजिक योगदान दिँदै आएकी छन्।
प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजे पहिलो रनर–अप घोषित भइन् भने मार्टिनिककी औरेली योहाचिम दोस्रो रनर–अप बनिन्। यस वर्षको प्रतियोगिता मे ७ मा सुरु भई मे ३१ मा समापन भएको हो, जसमा विश्वभरका १०८ देशका प्रतियोगीले भाग लिएका थिए।
नेपालबाट प्रतियोगितामा सहभागिता जनाएकी सृच्छा प्रधान शीर्ष ४० मा स्थान बनाउन असफल भइन्। यद्यपि, प्रतियोगिताको समापन समारोहमा विशेष सम्मान प्रदान गरिएको थियो।
कोभिड–१९ महामारीको समयमा मानवीय सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बलिउड अभिनेता सोनु सुदलाई “मिस वर्ल्ड हुमानिटरियन अवार्ड” प्रदान गरिएको थियो। उनलाई उक्त अवार्ड दक्षिण भारतीय सुपरस्टार राणा दगुबातीले प्रदान गरेका थिए। सुद प्रतियोगिताका निर्णायकसमेत थिए।









