चितुवाको आतङ्क: मेचीनगरमा दैनिक बाख्रा-सुँगुरको हत्या, स्थानीय त्रस्त
काठमाडौँ - मेचीनगर नगरपालिका–२ र ४ का स्थानीयवासी चितुवाको आतंकले त्रस्त बनेका छन्। लामो समयदेखि हात्ती र बाँदरको समस्याबाट पीडित रहेको यस क्षेत्रमा पछिल्ला १५ दिनयता चितुवाले समेत आतंक मच्चाउन थालेपछि जनजीवन थप असुरक्षित बन्दै गएको छ।
वडाध्यक्ष दीपक बरालका अनुसार चितुवा दिनभरि चिया बगान र निजी वन क्षेत्रमा लुकेर बस्ने र साँझपख स्थानीयवासीका खोरमा पसेर बाख्रा, सुँगुर मारेर खाने गरेको छ। “हात्तीको नियमित आतङ्क र बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामी अब चितुवाको पनि त्रासमा छौं,” वडाध्यक्ष बरालले बताए, “चितुवा खोरबाट दैनिक चौपाय तानेर मारिरहेको छ। अब बालबालिका कसरी जोगाउने भन्ने चिन्ता छ।”
हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगुर मारिएको पुष्टि भएको छ। यसले गर्दा चिया बगानमा काम गर्ने श्रमिक, विद्यालय जाने बालबालिका, र बिहान–साँझ यात्रा गर्ने सर्वसाधारणमा चितुवाको सम्भावित आक्रमणको डर बढेको छ।चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको वडाध्यक्ष बरालले जानकारी दिए। साथै, डिभिजन वन कार्यालय झापा र अन्य सरोकारवाला निकायलाई चितुवाको नियन्त्रणमा तत्काल पहल गर्न सामाजिक सञ्जालमार्फत अपिल समेत गरेका छन्। उनले दुई वा सोभन्दा बढी बयस्क चितुवा यस क्षेत्रमा रहेको आशंका व्यक्त गरेका छन्।
मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार दुई महिनाअघि पनि चितुवाले एक दर्जनभन्दा बढी खसीबाख्रा मारेको थियो। त्यसबेला कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट ल्याइएको फलामे खोरमार्फत प्रयास गरिए पनि चितुवा नियन्त्रणमा ल्याउन सकिएको थिएन।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार हालसम्म मानवीय क्षति नभए पनि चितुवाको गतिविधि चिन्ताजनक बन्दै गएको छ। “चितुवा घुमिरहने वन्यजन्तु हो। सम्भवतः इलाम–झापा सीमावर्ती क्षेत्रबाट आवतजावत गरिरहेको हुनसक्छ,” उनले बताए।
सात वर्षअघि पनि बाहुनडाँगीमा चितुवा देखिएपछि नियन्त्रणमा लिइएको थियो। त्यतिबेला खोर थापेर नियन्त्रण गरिएको थियो। सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र रहेको हुँदा त्यहाँबाट समेत जङ्गली जनावर आइपुग्ने गरेको अनुभव वडाध्यक्ष कार्कीले सुनाए।









