प्रश्न सोध्न खोज्दा युवक पक्राउ: प्रचण्डको कार्यक्रममै अपमानजनक व्यवहार
काठमाडौँ - शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रचण्ड मन्तव्य दिइरहेका बेला, सुर्यगढी गाउँपालिका–२ बोहोरेका जनार्दन अधिकारीले उठेर, “मेरो तपाईंसँग एउटा प्रश्न छ,” भन्दै प्रश्न गर्न खोजे। तर प्रचण्डले जवाफ दिँदै भने, “यो समय सवालजवाफ गर्ने होइन। तपाई तल (विदुर)मा भएको पत्रकार सम्मेलनमा आउनु भएन, प्रश्न त त्यही सोध्न पाइन्थ्यो नि।”
यसपछि कार्यक्रमस्थलमा रहेका उनका पीएसओहरूले जनार्दनलाई कार्यक्रमस्थल बाहिर जान निर्देशन दिए। केही समयमै सुरक्षाकर्मीले उनलाई पक्राउ गरे। पाँच मिटर पर पुग्दा अन्य केही व्यक्तिहरूले उनलाई हातपात गरे। त्यसबेलासम्म आयोजकले प्रचण्डलाई मायाको चिनो प्रदान गरिसकेका थिए र उद्घोषकले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको घोषणा गरे।
दर्शकदीर्घाबाट भने आलोचनात्मक स्वरहरू उठे। एक सहभागीले भने, “प्रश्न राख्छु भनेर उठेको मानिसलाई यसरी लछारपछार गर्नु त लोकतन्त्रविपरीत हो।” पक्राउ परेका अधिकारीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ भने उनको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।









