गलकोटको गेस्ट हाउसमा पुरुष मृत फेला, मदिरा सेवनकै कारण मृत्यु आशंका
काठमाडौँ - गलकोट नगरपालिकाको हटिया बजारस्थित एक गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।पर्सा जिल्ला कालिकामाई गाउँपालिका–२ निवासी ४६ वर्षीय सुबोधकुमार कुसुवा शुक्रबार बिहान सुस्मिता गेस्ट हाउसको कोठा नम्बर १०१ मा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
गेस्ट हाउस सञ्चालिका सङ्गिता भण्डारीका अनुसार कुसुवा अघिल्लो दिन बाहिरबाट मदिरा सेवन गरेर होटल फर्किएका थिए भने होटलमै खाना खाएका थिएनन् । प्रहरीका अनुसार मृतक कुसुवा गलकोटको सनराइज बोर्डिङ स्कुलमा अध्यापन गराउने व्यक्ति थिए । तर, विद्यालयमा समेत मदिरा सेवनको कारण देखाउँदै केही दिनअघि उनलाई स्कुलबाट निष्कासन गरिएको थियो ।
उनी बुधबारदेखि सो गेस्ट हाउसमा बस्दै आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम रिपोर्टपछि विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।









