बागलुङको जैमिनी नगरपालिकामा तीनवटा सडक कालोपत्रको अन्तिम चरणमा
काठमाडौं - बागलुङको जैमिनी नगरपालिकामा संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीनवटा सडक कालोपत्रको काम तीव्र गतिमा अघि बढिरहेको छ। तीनवटै सडकको कुल लम्बाइ पाँच किलोमिटर रहेको र लागत आठ करोड १८ लाख रहेको छ।
जैमिनी नगरपालिका केन्द्र पुग्ने दुईवटा सडक र कुश्मिसेरा–सकुर्वा–ब्याडथला जोड्ने सडकको कालोपत्र कार्य अन्तिम चरणमा पुगेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए। यसका साथै, बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने टाकुरी खण्डको एक किलोमिटर सडकको कालोपत्र कार्य पनि जारी छ।
कुश्मिसेरा–सकुर्वा–ब्याडथला सडकको मौलाछ खण्डको दुई किलोमिटर सडक संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कालोपत्र गरिने तयारीमा रहेको छ। यसका लागि समपूरक तथा सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारले जम्मा रु तीन करोड ७२ लाख बजेट विनियोजन गरेका छन्।
तीनवटै सडकको चौडाइ विस्तार, पानी जमेको स्थानमा ढलान, नाली निर्माण र आवश्यक स्थानमा ग्यावियन जाली लगाउने कामपश्चात कालोपत्र गरिनेछ।









