कैलालीको घोडाघोडी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
काठमाडौं - कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार, करिब पौने ८ बजेतिर सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीय मान बहादुर चौधरी गम्भीर घाइते भएका थिए। उनीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो, तर उपचारका क्रममा पौने ९ बजेतिर मृत्यु भएको बताइएको छ।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय भरत बहादुर बम पनि दुर्घटनामा घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मण बहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।









