भक्तपुरमा नक्कली प्रहरी निरीक्षक बनेका युवक पक्राउ
काठमाडौं - भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर २ स्थित दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडि मंगलबार साढे ६ बजे सडकमा प्रहरी निरीक्षकको बर्दी लगाएको फोटो मोबाइलको वाल पेपरमा राखेर सर्वसाधारणलाई झुक्याउने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
गिरीले आफूलाई प्रहरी निरीक्षक भएको भन्दै नक्कली परिचय प्रस्तुत गरी अशान्ति फैलाएको सूचनाको आधारमा प्रहरी वृत्त ठिमीको टोलीले उनलाई सोही स्थानबाट पक्राउ गरेको हो। उनी भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ३ का स्थायी निवासी हुन्।
पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए।









