बागमती प्रदेशसभा बैठक आज बस्दै
काठमाडौं - बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे हेटौँडास्थित प्रदेशसभा सचिवालयमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ।
बुधबारबाट सुरु भएको यस विधेयकमाथिको छलफल आज पनि निरन्तरता पाउने भएको छ। बैठकमा सांसदहरूले प्रदेश सरकारको आगामी बजेट र नीतिका विषयमा धारणा राख्नेछन्। विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल सकेर आज नै टुङ्ग्याउने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले दिनेछन्। उनको जवाफपछि सभामुख भुवनकुमार पाठकले विधेयकका सिद्धान्त र प्राथमिकतामा निर्णय लिनेछन्।
यसका साथै, बैठकमा चलचित्रसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसदीय समितिमा विचाराधीन चार वटा विधेयकका विषयमा पनि छलफल हुने कार्यसूचीमा समावेश गरिएको छ।









