मोरङको ग्रामथानमा नहरमा डुबिरहेको अवस्थामा युवकको मृत्यु
काठमाडौं - मोरङको ग्रामथान गाउँपालिका–७ खद्रा चोकस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक युवक मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार २४ वर्षीय सुमन चौधरीको शव बुधबार बिहान ९ बजेतिर नहरको पानीमा डुबेर मृत अवस्थामा फेला परेको हो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय हरैँचाबाट सई नीरबहादुर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर शवलाई उत्तानो अवस्थामा डुबिरहेको देखेपछि कानुनी प्रक्रिया पूरा गर्दै पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार चौधरी मादक पदार्थ सेवन गरेर नहरमा खसेपछि उठ्न नसक्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। उनी मंगलबार दिउँसो घरबाट मेला भर्न हिँडेका थिए र साँझ घर फर्किएका थिए। राति ९ बजेतिर नजिकैको पसलमा गुट्खा किन्ने क्रममा देखिएका चौधरी बिहान नहरमा मृत फेला परेका हुन्।









