संघीय संसदको राष्ट्रिय सभाको बैठक भोलि अपराह्न १:१५ बजे बस्ने
काठमाडौं - संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, राष्ट्रिय सभाको बैठक भोलि अपराह्न १:१५ बजे बस्ने भएको छ। बैठकमा चार प्रमुख एजेन्डामा छलफल र प्रस्तुति हुने कार्यक्रम तय भएको छ।
- बैठकको प्रारम्भमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभा समक्ष जानकारी गराउनेछन्।
- विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
- राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८०” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।
- बैठकको अन्तिममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष पेश गर्नेछन्।









