आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट : थाइल्याण्डसँग ७८ रनले नेपाल पराजित
काठमाडौं - आईसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत 'सुपर थ्री' चरणको अन्तिम खेलमा नेपाल महिला क्रिकेट टोली घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ।
टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो। उसका लागि नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतक प्रहार गरे। नेपालका राजमती ऐरी र मनिषा उपाध्यायले समान १/१ विकेट लिए।
१५९ रनको चुनौती पछ्याएको नेपालले खराब प्रदर्शन गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ८० रन बनाउन सक्यो। कविता कुँवरले सर्वाधिक २४ रन बनाइन्। थाइल्याण्डकी ओनिचा कम्चोम्फुले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिकसहित ४ विकेट हात पारिन्।
यद्यपि, नेपाल र थाइल्याण्ड दुवै टोली यसअघि नै आगामी टी–२० विश्वकपको ग्लोबल छनोट चरणमा प्रवेश गरिसकेका छन्।
विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसको शीर्ष ४ टोलीले सन् २०२६ मा इङ्ग्ल्याण्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछ।