कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव सशस्त्रका गोताखोरले निकाले
काठमाडौं - रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षीय किशोर निरज मल्लको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले तीन दिनपछि फेला पारेको छ।
जेठ ३ गते पौडी खेल्ने क्रममा मल्ल नदीमा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट निरीक्षकको नेतृत्वमा गोताखोर टोली खटाइएको थियो।
गोताखोर टोलीले जेठ ५ गते दिउँसो साढे १२ बजे करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको हो। टोलीमा ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्त गरी १९ जनाको सहभागिता थियो।









