बार्सिलोनालाई हराउँदै भियारियालले च्याम्पियन्स लिगमा स्थान सुरक्षित
काठमाडौं - स्पेनको ला लिगामा आइतबार सम्पन्न खेलमा भियारियालले बार्सिलोनालाई ३-२ ले पराजित गर्दै आगामी सिजनको युईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। यो जितसँगै भियारियालले ३७ खेलमा ६७ अंक जोड्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। यसअघि, स्पेनको फुटबल महासंघले आगामी सिजनका लागि पाँच वटा च्याम्पियन्स लिग स्थान सुनिश्चित गरेको थियो ।
खेलको सुरुआतमा भियारियालले चौथो मिनेटमा आयोजे पेरेजको गोलबाट अग्रता लिएको थियो। तर बार्सिलोनाले पहिलो हाफको ३८औं मिनेटमा लामिन यामल र इन्जुरी टाइममा फर्मिन लोपेजको गोलबाट २-१ को अग्रता बनायो। दोस्रो हाफको पाँचौं मिनेटमा सान्टी कोमेसानाले गोल गर्दै भियारियाललाई बराबरीमा ल्याए। ८०औं मिनेटमा ताजोन बुचानानको निर्णायक गोलले भियारियाललाई ३-२ को जित दिलायो ।
यस जितसँगै भियारियालले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ भने बार्सिलोनाले ८५ अंकका साथ शीर्ष स्थानमा रह्यो। यसअघि, रियल मड्रिडले सेभियालाई २-० र एट्लेटिको मड्रिडले रियल बेटिसलाई ४-१ ले पराजित गरेका थिए । यस्तै एथ्लेटिक विल्वाओले भ्यालेन्सियालाई १-० ले हरायो ।